२०८२ जेष्ठ ८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

बाँके । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् ।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले रु एक लाखभन्दा बढी खर्च गर्ने गरेका छन् । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यासँगै स्तरीय होटलसमेत बढेका छन् ।
बाँकेमा तीन हजारभन्दा बढी होटल सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै एक हजार ५०० भन्दा बढी होटल सञ्चालनमा रहेको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए ।

नेपालगञ्जमा होटल सोल्टी, वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजालगायत होटल सञ्चालनमा छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम खालका होटल भरिभराउ छन् । नेपालगञ्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जान दैनिक सयौँको सङ्ख्यामा भारतीय पर्यटक नेपालगञ्ज आउने गरेका छन् ।
यसैबीच,तीर्थयात्रीका कारण नेपालगञ्ज विमानस्थल व्यस्त बनेको छ । मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याइ छ । तीर्थयात्री ओसार्नकै लागि नेपालगञ्ज विमानस्थलमा ताराका दुई, सीताका दुई, सिम्रिकका दुई र नेपाल वायुसेवा निगमको एक जहाजले दैनिक २० उडान भर्ने गरेको छ । सिमकोट विमानस्थलमा सिम्रिक, डाइनेस्टी, फिस्टेल, माउन्टेन एयरका हेलिकप्टरले हिल्सासम्मको उडान भर्दै आएका छन् ।

नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक करीब ४ सय सम्म भारतीय तीर्थयात्री नेपालगञ्जबाट सिमकोट पुग्ने गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु