२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu १२ महिना अगाडि

काठमाडौँ । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।

र्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल-भारतबीच विद्युत आयात-निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।

२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ । अब बंगलादेश पनि निर्यात गर्ने तयारी छ । त्यसका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने छ । त्यसैले यसमा भारतीय पक्षको पनि स्वीकृति अनिवार्य भएको छ । यद्यपि नेपाल र बंगलादेशबीच छुट्टै डेडिकेटेड प्रसारण लाइन बनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशको संयुक्त लगानी हुने र त्यस सम्बन्धी सम्झौता पत्रमा ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय  भएको छ ।

केही वर्षयता नेपाल र बंगलादेश बीच डेडिकेटेड ट्रान्समिसन लाइन निर्माणको सम्बन्धमा छलफल चलिरहेको छ । तत्कालका लागि भारतको सिलगुडी करिडोरमा रहेको भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने बंगलादेश र नेपाली पक्षको प्रस्ताव छ ।

फेसबुक प्रतिक्रियाहरु