२०८२ जेष्ठ ८, बिहिबार
  • Namaste Khabar ६ वर्ष अगाडि

पोखरा । कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिए ।

उनका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुनेछ । चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार ५०० मिटरको उचाइमा चताखर्कामा १२० बेड क्षमताको रिसोर्ट निर्माण गरिने बताइएको छ ।

उनले यसको कूल लागत रु छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था मिलाइएको छ ।
अन्नपूर्ण हिमालको उच्च बुकेनीफाँटमा नेपालको मध्यविन्दु स्तम्भ उद्यानसमेत निर्माण गरिने लक्ष्य राखिएको उक्त केबुलकार चन्द्रागिरि समूहले निर्माण गर्ने भएको हो ।
गाउँपालिकाअन्तर्गतका प्राकृतिक महत्वका स्थानहरुमध्ये होचो स्थानमा रहेको कपुचे हिमाल, कोरी, ठूलोलेक, क्होलासोँधर, दूधपोखरी, सवुपोखरी, कपुडाँडा, लम्तरीडाँडा, ताराहिलटप, नेपालको मध्यविन्दुलगायतका स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अध्यक्ष गुरुङका अनुसार पालिकाको वडा नं ६ मा तप्राङ्ग वन्यजन्तु उद्यान निर्माण गर्नका लागि गुरुयोजना तयार गरी सङ्घ र प्रदेश सरकारको समन्वयमा जङ्गल सफारीका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । अन्नपूर्ण राउण्ड सर्किटलाई पदयात्राको रूपमा विकास गर्नका लागि सिक्लेसदेखि मनाङको तिमाङसम्मको रुटमा आवश्यक पर्यटन पूर्वाधार निर्माण गरी यस क्षेत्रको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धन गरिने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु