काठमाडौं । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित हुँदै आएकामा सोमबारदेखि बन्द भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि हडताल गर्दै आएका थिए ।
मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए ।
उनका अनुसार सन् २००६ देखि २०१८ सम्म होटल व्यवस्थापनसँग भएका सामूहिक सम्झौताको पालना नभएको, बीमा कोषको रकम हिनामिना गरिएको तथा वार्षिक ग्रेड सुविधा घटाएकोले मजदूर मर्कामा परेका छन् ।
अर्कोतर्फ होटलको उच्च व्यवस्थापनमा आएका पाँच भारतीयले मजदूर तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै आएको उनिहरुको आरोप छ ।
यता होटल ब्यवस्थापनले भने नाजायज माग राखेर जबरजस्ती युनियन हडतालमा उत्रिएको आरोप लगाएको छ ।
मजदूरको मागका सम्बन्धमा व्यवस्थापनसँग वार्ता भए पनि निष्कर्षमा पुग्नसकेको छैन । आन्दोलनका कारण होटलका पाहुनालाई अन्यत्र सारिएको बताइएको छ । आइतबार दुई पक्षबीच वार्ता भए पनि कुनै सहमति हुन सकेको थिएन् । होटलले नेपाल स्टक एक्सचेन्जलाई एक पत्र पठाई मजदुरका हडतालका कारण होटल बन्द गर्न बाध्य गर्नु परेको उल्लेख गरेको छ ।