म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।
नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए ।
नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पु¥याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पु¥याउन काम शुरु गरिएको छ ।
डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजीकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताए ।
१३ अर्ब लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ । चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ । आगामी चार वर्षभित्र आयोजना पूरा गरिने लक्ष्य छ ।
नारच्याङमा हाल दश वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, चार मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेका स्थानीयवासी सुवास विश्वकर्माले बताए ।