धनकुटा — अविरल वर्षाका कारण बाढीले सडक भत्काएपछि बन्द रहेको कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
साँगुरीगढी गाउँपालिका–६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिब २ सय मिटर सडक बगाएको थियो । डोजरबाट खोलाको पानी तर्काएपछि एकतर्फी यातायात खुलाउने प्रयास भइरहेको छ । सडक भत्किएपछि प्रहरीले धनकुटा र भेडेटारमा सवारी साधन रोकेको थियो ।
बाढीले कम्तीमा दुई करोडभन्दा बढीको क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिएको छ । मौसममा सुधार आउनासाथ तत्काल सडक मर्मत कार्य थालिने उनले बताए । सडक भत्किएपछि धरान धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको छ ।
पाख्रीवास नगरपालिका–५ डिकुरे खण्डमा अवरुद्ध मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको जनाइएको छ ।