राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी भएपछी जसपा नेपालको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्नका तयारी सुरु गरेको छ ।
अध्यादेश आएपछि ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न बाटो खुला भएको हो । ठाकुर पक्षले दल विभाजन गरी बुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन तयारी गरेको बताएको छ ।
ठाकुर निकट स्रोतका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ । नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् । तर जसपा लोकतान्त्रिक पार्टी नै राख्ने निश्चित भएको ती नेताको भनाइ छ ।
ठाकुर पक्षका एक नेताका अनुसार अब नयाँ पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ । ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज समेत उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो कमजोर रहेकाले सो आवाज कमजोर बनेको नेताहरुको भनाइ छ ।
जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ठाकुर पक्षमा २३ सदस्यहरू रहेका छन् । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) हरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सङ्ख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।