काठमाडौं । नेपाल र चीनबीच हवाई सेवाको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् ।
द्विपक्षीय छलफलपछि शुक्रबार हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप आठवटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ । योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा उडानको अवसर जुटेको छ ।
चीनका कुन–कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने तथा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरुपण गर्न छलफलका क्रममा अनुरोध गरिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
चीनले यस अघि नै नेपालमा दर्ता भएका एयरलाइन्सलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वांङझाउ, कुनमिङ, छेन्दु र सियानमा उडानको सम्झौतामा हस्ताक्षर गरेको छ । तर अहिलेसम्म ती स्थानमा नेपालका वायु सेवा कम्पनीलाई उडानको अनुमति दिएको छैन । शुक्रबार भएको सम्झौतासँगै अब थप ८ वटा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान सेवाका लागि बाटो खुला भएको हो । थपिएका ८ स्थानको नाम तोकिएको छैन । २१ वर्षअघि नेपालले चीनसँग गरेको हवाई सेवा सम्झौता गरेको थियो । अब अन्तर्रा्ष्ट्रिय उडान अनुमति प्राप्त गरेका नेपाली वायुसेवा कम्पनीले आफ्नो इच्छाअनुसार १५ वटा विमानस्थलमा सिधा उडान गर्न पाउने छन् ।
सन् २००७ अघि नेपाल वायुसेवा निगमले चीनको सांघाई हुँदै ओसाकासम्म बोइङ ७५७ बाट उडान गर्थ्यो ।
यसैबीच, हाल चीन र नेपालबीच सातामा ७० वटासम्म उडान गर्न पाउने संख्यालाई ९८ र्पुयाइएको छ । दुबै देशका वायुसेवा कम्पनीले सातामा अधिकतम ९८ वटा उडान भन्दा बढी गर्न पाउने छैनन् । चिनियाँ विमान कम्पनीहरुका लागि काठमाडौंबाहेक सन् २०२० देखी सञ्चालनमा ल्याइने भैरहवास्थित गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरामा बन्दै गरेको क्षेत्रीय विमानस्थलमा पनि उडान गर्न पाउने भएका छन् । यी दुवै विमानस्थल सञ्चालन भएलगत्तै चिनियाँ विमान कम्पनीहरुले सिधा उडान गर्न पाउने सहमति भएको छ ।
हाल चीनबाट चाइना साउर्दन, चाइना इष्ट्रन, एयर चाइना, सिचुवान एयरलाइन्स र तिब्बत एयरलायन्स तथा हङकङबाट ड्रयागन एयरसमते गरी ६ वटा एयरलायन्सले काठमाडौंका लागि उडान भर्दै आएका छन् ।