काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरमा छलफल गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले भारतसँग कूटनीतिक तवरमा छलफल गरेर बाढीको समस्यालाई सधैंका लागि समाधान गर्नुपर्ने बताए ।
देउवाले प्रश्न गर्दै भने, “भारतसँग कुरा गर्नुपर्छ । भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने काम हुँदै आएको छ । एकले अर्कालाई दोष दिएर कति दिनसम्म पुग्छ ?” उनले भने, “यसमा भारतसँग कूटनीतिक तवरमा कुरा गरेर सधैंका लागि समाधान गर्नुपर्छ । स्थायी समाधान खोज्नुपर्ने समय आइसकेको छ ।”
उनले बाढीपहिरो प्रभावितलाई राहत, उद्धार गर्ने पहिलो दायित्व राज्यको भएको स्मरण गराउँदै तराई–मधेसका बाढीपीडितलाई राज्य पक्षले कुनै पनि सहयोग नगरेको भन्दै आपत्ति जनाए । “घरबारविहिनलाई बास, खाद्यान्न, लत्ताकपडा दिने पहिलो कर्तव्य सरकारको हो । तर, बाढीपीडितले केही पाएका छैनन,” सभापति देउवाले भने, “रेडक्रस र एनजीओहरुले केही सहयोग गरेका छन् । यो सरकारले केही दिएको छैन ।”
बाढी प्रभावित जिल्लाका भ्रमणका क्रममा आफूले जनता दुःखमा परेका बेला स्थानीय सरकार पनि बाढी प्रभावितसम्म पुगेको नदेखेको उनले सुनाए ।