२०८१ बैशाख २१, शुक्रबार
  • रिपब्लिक दैनिक ३ वर्ष अगाडि

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका नेताहरु बहुमत सदस्यहरुको हस्ताक्षर सहित  निर्वाचन आयोग पुगेका छन् ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित  अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णय लिएर बुधबार नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

आयोगमा नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ । पोखरेलले केन्द्रीय कमिटीको करिब ६६ प्रतिशत सदस्यको हस्ताक्षर आफूहरुसँग रहेको दावी गरेका छन्  । नेकपाका दुवै समूहले छुट्टाछुट्टै बैठक राखेर आ–आफ्नो समूहलाई आधिकारीक दावी गरेका छन् ।

अध्यक्ष ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह आधिकारिक भएको दावी गरेको छ। ओलीको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कमिटीमा ५ सय ५६ सदस्य थप गरेको छ । केन्द्रीय कमिटी विस्तार गरिएको नामसहितको विवरण मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।

दाहाल–नेपाल समूहले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्दै बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले मूलधार भएको जिकिर गरेको छ । मंगलबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाएको छ । नेकपाको धारा ६० ले बहुमतको निर्णयलाई नै पार्टी निर्णय मान्ने भएकाले दाहाल–नेपाल समूहले गरेको यो निर्णय नै पार्टीको आधिकारिक निर्णय हुने बताउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु