२०८१ जेष्ठ ६, आइतवार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको समस्याको मुख्य जड प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएको छ। अध्यक्ष ओलीले पेस गरेको ३८ पुष्ठ लामो राजनीतिक प्रस्तावमाथि मंगलबारको सचिवालय बैठकमा धारणा राख्दै नेता नेपालले ओलीले व्यक्तिवाद त्याग्नुपर्ने बताएका छन् ।

‘दुई प्रस्तावको दुई सार छ । एउटा (प्रचण्डको प्रस्ताव) ले विचार, राजनीति, विधि पद्धति, पार्टी निर्णय नमानेर समस्या आयो भनेको छ । अर्को (ओलीको प्रस्ताव) ले नेताहरुको चाहना इच्छा पूरा हुन नपाएको कारणले गर्दा समस्या आयो भनेको छ । त्यसकारण कमरेड केपीको बुझाई पुरै गलत छ,’ बैठकमा नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘केपी कमरेडमा व्यक्तिवादको समस्या, तपाईंले पहिला यो त्याग्नुस् । तपाईंमा गुटवाद छ त्यो पनि त्याग्नुस् । समस्याको जरो केपी कमरेड तपाईं नै हो ।’

नेता नेपालले पार्टी विभाजनको त्रास फैलाएको भन्दै विभाजन गर्ने को हो भन्दै प्रश्न गरेका थिए । ‘विभाजनको त्रास किन फैलाएको ? अब पूर्वमाओवादी र पूर्वएमाले भनेर फुट्न सक्दै सक्दैन । पार्टी फुट्न पनि सक्दैन । को हो पार्टी फुटाउने ?’ नेपालको भनाइ थियो, ‘हामी सबै कमिटीको सदस्य मात्र हौं, अध्यक्ष र महासचिव पनि । यसकारण सहमतिमा टुंग्याउने, त्यसमा पनि दुई जना वा तीन जनाको सहमतिमा हुने भन्ने हैन । सहमति भए राम्रो, नभए पनि विधि र पद्धतिमा जानुपर्छ । कमिटीले निर्णय गर्ने हो ।’

ओलीको प्रस्तावमाथि बोल्दै वरिष्ठ नेता झलनाथ खनालले सहमतिमा पार्टी चल्ने भन्ने दुनियाँमा नहुने भन्दै विधि पद्धतिमा पार्टी चल्नु पर्ने बताएका थिए । ‘सहमतिको आधारमा मात्रै पार्टी चल्ने भन्ने दुनियाँमा कहीं पनि हुन्न । विधि र पद्धतिमा चल्नु पर्छ । सबै कुरा छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ’ खनालको भनाइ थियो ।

उपाध्यक्ष वामदेव गौतमले औपचारिक छलफलसँगै अनौपचारिक छलफल गर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए । ‘केही समय अनौपचारिक छलफल पनि गर्नुपर्ला । प्रस्तावमाथि पनि छलफल गर्नुपर्छ । विचार राख्न नपाउने, प्रस्तावमा छलफल गर्न नपाउने भन्ने जस्तो कुरा कसैले पनि नगरौं । छलफल भइनै सकेको छ । यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउँ । औपचारिक बैठकको साथसाथै अनौपचारिक छलफल पनि गरौं’ गौतमले बैठकमा भनेका थिए ।

प्रवक्ता श्रेष्ठले अनौपचारिक छलफलका साथै विधि पद्धतिबाट विचलित हुन नहुने धारणा राखेका थिए । श्रेष्ठले अनौपचारिक छलफलको नाममा बैठकलाई रोक्न नमिल्ने बताएका थिए ।

सचिवालय सदस्य ईश्वर पोखेरलले पनि अनौपचारिक छलफल अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले बैठकको औचित्य नभएको बताएर उठेका थिए । ‘बैठकको काम छैन । पाँच/दस दिन अनौपचारिक छलफल गरौं ।’ त्यसपछि अन्य सदस्यले बैठक रोक्न नहुने धारणा राखेका थिए ।

सचिवालयको अर्को बैठक बुधबार बालुवाटारमा नै बस्ने तय भएको प्रवक्ता श्रेष्ठले बताए । आजको बैठक सुरु हुनु अघि महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिनको केक काटिएको थियो । त्यसपछि केहीबेर एजेन्डालाई लिएर बैठकमा तनाव भएको थियो ।

यसअघि पार्टी मुख्यालय धुम्बाराही बस्ने तय भएको बैठक ‘सुरक्षा थ्रेट’ देखाउँदै बालुवाटारमा सारिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु