२०८१ जेष्ठ ७, सोमवार
  • Namaste Khabar ४ वर्ष अगाडि

टोक्यो — जापानी मन्त्रिपरिषद्मा प्रमुख सचिव योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको  छ । सोमबार सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) ले सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको जापानी समाचार संस्थाहरुले  जनाएको छ ।

सत्तारुढ दलका सांसदहरुबीच भएको मतदानमा सुगा स्पष्ट मतसहित संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वीमा पूर्वरक्षामन्त्री शिगेरु इशिबा र पूर्वविदेशमन्त्री फुमियो किशिदा रहेका थिए । सुगाले ३७७ मत प्राप्त गर्दा किशिदाले ८९ र इशिबाले ६८ मत प्राप्त गरे । संसदीय दलको नेता छान्नका लागि एलडीपीका ३९४ सांसद, स्थानीय च्याप्टरका १४१ डेलिगेट्स र पार्टीका वरिष्ठ नेताहरुले मतदान गरेका थिए ।

गत अगस्ट २८ मा शिन्जो आबेले स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएपछि जापानका नयाँ प्रधानमन्त्री चुन्नका लागि सत्तारुढ दलमा निर्वाचन भएको हो । आबेको राजीनामापछि उनीनिकट नेता मानिने सुगा नै संसदीय दलको नेतामा निर्वाचित हुने अपेक्षा गरिएको थियो । बुधबार प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुनेछ । तर जापानी संसद्मा एलडीपीको बहुमत भएकाले त्यो चुनाव औपचाकिता मात्रै हुनेछ ।

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । सन् २०२१ को अक्टोबर २१ भन्दा अघि नै जापानमा आम चुनाव सम्पन्न गरिसक्नुपर्छ । त्यसैले सुगा कम्तीमा पनि आउँदो चुनावसम्म जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु