२०८१ बैशाख २२, शनिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएको छ ।

नेकपाको सचिवालय बैठकले शनिबारउक्त निर्णय लिएपछि  नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले त्यसको विरोध जनाएको हो । निधिले भने, ‘प्रधानमन्त्रीको चाहना अनुसार विहीबार हामीले बालुवाटार पुगेर हाम्रो कुरा राखेका थियौँ । हाम्रो पार्टीको आधिकारिक धारणा नेपाल नागरिकता ऐन, २०६३ लाई कायम राख्नुपर्छ । यसमा कुनै किसिमको संशोधन जरुरी छैन भनेर भनेका थियौँ । उहाँले पार्टीमा छलफल गरेर तपाईँलाई खबर गर्छौँ भन्नुभयो । अहिले उहाँले एकतर्फी निर्णय गर्नुभएकोमा हामीलाई दुख लागेको छ ।

निधिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न कुरामा आफूहरुको सहमति नहुने पनि प्रष्ट पारे । उनले भने, ‘अहिले कै व्यवस्था कायम रहनुपर्छ । सरकारले गर्न लागेको संशोधनमा पक्षमा हामी छैनौँ । हाम्रो धारणा यही हो ।

नेकपाको कदम निन्दनीय भएको भन्दै यसले सामाजिक, सांस्कृतिक, राजनीतिक र साम्प्रदायिक द्धन्द्ध सिर्जनाको विजारोपण भएको निधिको ठहर छ ।
‘मिडियामा आएको समाचार साँचो हो भने यो अत्यन्त निन्दनीय काम हो । यस्तो किसिमको बन्ने कानुनलाई हामी स्वीकार गर्दैनौँ,’ निधिले व्यक्तिगत धारणा सुनाउँदै भने,

यस्तै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसले आफ्नो धारणा प्रधानमन्त्रीसामु राखिसकेको भन्दै सरकारले सहमतिको बाटो नरोजेको बताए । नेकपाको निर्णयबारे पार्टीभित्र छलफल गरेर काँग्रेसले आफ्नो पोजिशन प्रस्ट पार्ने उनले बताए ।

नागरिकतासम्बन्धी विधेयकमा सहमति वातावरण नबनेपछि बुधबार सरकारले सहमति जुटाउन थप ५ दिन समय मागेको थियो । सहमतिको वातावरण तय गर्न विषयमा प्रधानमन्त्री केपी ओलीले बिहीबार काँग्रेसको धारणा बुझेका थिए ।

काँग्रेसले २०६३ सालको नागरिकता ऐन अनुसार नेपालीसँग बिहे गरेर आएकी विदेशी बुहारीलाई तत्काल नेपाली नागरिता दिनुपर्नेमा अडान दोहोर्याएको थियो । यस विषयमा काँग्रेससँगै जनता समाजवादी पार्टी पनि वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा वर्तमान व्यवस्था कायम हुनुपर्ने पक्षमा छ ।

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झाको ट्वीट रिट्वीट गर्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. वाबुराम भट्टराईले पनि नेकपाको निर्णयप्रति विमति प्रकट गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु