२०८१ जेष्ठ ५, शनिबार
  • Namaste Khabar ४ वर्ष अगाडि

सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन थप एक सय २० जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार एकैदिन एक सय २० जना कोरोना संक्रमित बढेका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार २ सय २४ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार पुष्टि भएका नयाँ संक्रमितमध्ये दैलेखका ८६ र सुर्खेतका ३४ जना छन् ।

जसमा २ वर्षीय बालकदेखि ५५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएका कोरोना संक्रमितहरुमा सबैभन्दा बढी दैलेख महावु गाउँपालिका–२ का मात्रै ४८ जना छन् ।

बिहीबार ११ जनाले कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोनाबाट निको हुनेको संख्या ५ सय ५ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनबाट ६, महावु आइसोलेसन दैलेखबाट एक, सालकोट आइसोलेसन सुर्खेतबाट तीन र सिम्ता आइसोलेसन सुर्खेतबट एक जना गरी ११ जना विहिबार कोरोना जीतेर घर गएका छन् ।

कर्णाली प्रदेशमा हालसम्म १७ हजारको कोरोना परीक्षण गरिएको छ । जसमध्ये तीन जनाको कोरोनाबाट मृत्यु भएको छ । कर्णाली प्रदेशमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय २२ र सबैभन्दा कम हुम्ला र डोल्पामा १-१ तथा मुगुका २ जनालाई कोरोना पुष्टि भएको छ । यस्तै सल्यानका १ सय ३७, सुर्खेतका २ सय ७१, जाजरकोट ८, कालिकोट ४२, जुम्लामा २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रियाहरु