२०८१ बैशाख २४, सोमवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

भेडेटार : पूर्वअन्चलकै  सुन्दर पर्यटकीय स्थल धरानको  भेडेटारमा जिपलाइनको सुरुवात भएको छ। साहासिक पर्यटकीय खेलको रुपमा लिइने यो जिपलाइन प्रदेश एककै पहिलोजिपलाइन  हो।

प्रदेश एकको मुख्यमन्त्री शेरधन राई धरान महानगरपालिकाको मेयर तिलक राइ लगाएतले उपचारिक रुपमा जिपलाइनको उपचारिक  उद्घाटन गर्दै यसको सुरुवात  गरेको हो ।

वल्र्ड वाइड ग्रुप नेपाल प्रालि धरान ४ ले करिब  तीन करोड लागतमा जिपलाइनको निर्माण गरेको हो। धरान ४ स्थित भेडेटार बजारदेखि देवीथान डाँडासम्म ६ सय ५० मिटर लामो जीपलाइन सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डको रहेको प्रालिका सञ्चालकले बताएको छ।

यसको सञ्चालकमा केदार थापा, यम राई, डोलिका लिम्बू र विवस भण्डारीसहितको टिम रहेको छ। यो टिमले  २ वर्ष अध्ययन गरेर जिपलाइन फ्लाइङको सुरुवात गरेको हो ।

यसले धरानसहित धनकुटा र समग्र प्रदेश १ मा पर्यटक तान्नमा सहयोग पुर्‍याउनुको साथै साहसिक खेल पर्यटनको हबको रुपमा विकास गर्न मदत पुर्‍याउने प्रदेश एक  मुख्यमन्त्री राईले बताए।

जीपलाइनमा टेकअफ पोइन्टदेखि ल्याण्डिङ पोइन्टसम्म आइपुग्न करिब ३० देखि ४० सेकेण्डसम्म लाग्ने सञ्चालकको भनाइ छ। जिपलाइनमा चढ्न आउनेलाई क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरी तीन प्रकारको सुविधा सञ्चालकले दिएको छ। क्लासिकमा एकजना बसेर फ्लाइङ गर्छन् भने सुपरम्यानमा उडेझै गरी फ्लाइङ गर्छन्।  कपलमा जोडीले बसेर फ्लाइङ गर्छन्। क्लासिकको १२ सय, सुपरम्यानको १५ सय र कपलको १८ सय रुपैयाँ शुल्क तोकिएको छ।

प्रालिका सञ्चालक थापाका अनुसार सञ्चालनका सुरुवाती चरणमा २० प्रतिशतसम्म छुट दिइएको छ। यसमा प्रयोग गरिएका सामग्री अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको र सफल कम्पनी भएकाले सुरक्षामा कुनै समस्या नहुने सञ्चालकको भनाइ छ।

जीपलाइन साहसिक खेलमा पर्ने भएकाले यसमा साहसिक पर्यटकको ५ लाखका बीमा पनि हुनेछ। यसमा प्रयोग भएको तारको क्षमता ११ हजार किलो भारको छ, भने सेफ्टी बेल्ट (हार्नेस) २२ देखि २७ सय किलो भार र क्याराविनरको भार क्षमता पनि २७ सय किलोसम्मको रहेको छ।

फेसबुक प्रतिक्रियाहरु