२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौँ ।  चीनको हुबेई प्रान्तको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसबाट हालसम्म ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ । हालसम्म ९५ हजार ४ सय ८१ जनामा संक्रमण देखा परेको छ ।

यो भाइरसको संक्रमण यतिबेला चीनसहित ८० मुलुकमा फैलिसकेको छ । कोरोना भाइरस (कोभिड–१९) नाम दिइएको यो भाइरसको संक्रमण विश्वभर फैलिएपछि मृत्यु हुन्छ भन्ने त्रास फैलिरहेको छ । धेरैमा यो सन्त्रास रहेको पाइन्छ । तर यो भाइरसको संक्रमण हुने वित्तिकै मृत्यु हुने होइन । यो भाइरसको संक्रमणबाट धेरैजना उपचार पछि निको भएर फर्किएका  उदाहरण छन् ।

कोरोनाबाट मुख्य प्रभावित चीनको हुबेई प्रान्तको वुहानमा मात्रै कोरोना संक्रमणपछि ४० हजार ४ सय ७९ जना निको भएर घर फर्किसकेका छन् । रोग प्रतिरोधात्मक क्षमता बढी भएका मानिसहरु संक्रमण भएर उपचार पछि घर फर्केका छन् ।

विश्वभर ५३ हजार ६ सय ८८ जना निको भएर घर फर्किएका छन् । यो भाइरस संक्रमणबाट मृत्यु् हुनेको संख्या हेर्दा कोरोना भाइरस संक्रमण भएकामध्ये १ हजार जनामा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ । कोरोनाबाट प्रभावित ५० प्रतिशत मानिस निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क हेर्दा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा बृद्ध र मधुमेह, उच्च रक्तचाप, मुटु रोग लागेकाहरु धेरै छन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको ‘सबैभन्दा उत्तम आँकलन’मा मृत्युदर २ प्रतिशत वा त्योभन्दा कम देखिएको छ । यद्यपि, कोरोना भाइरसको मृत्युदर विभिन्न कुरामा निर्भर गर्छ । बिरामीको उमेर, लिंग र सामान्य स्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा पनि यो मृत्युदर निर्भर रहन्छ ।

भाइरस संक्रमणका अधिकांश घटनाहरू गणनामा आउँदैन । किनकि मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सककहाँ जाँदैनन् । कोरोना भाइरस संक्रमण हुँदा वृद्ध, अस्वस्थ र पुरुषको मृत्यु हुने सम्भावना अधिक हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसको पनि कोरोना भाइरस संक्रमण भएको खण्डमा मृत्यु हुने सम्भावना ५ गुणा बढी पाइएको थियो । कुन उमेर समूहका छन् उच्च जोखिममा ? कोरोनाभाइरस व्यक्तिबाट अर्को अस्वस्थ्य व्यक्तिमा संक्रमण भएमा मृत्यु हुने दर बढी हुन्छ । बीबीसीले ४४ हजारभन्दा बढी कोरोना संक्रमितको विश्लेषण गर्दा वयस्कलाई भन्दा वृद्ध मानिसको मृत्युदर १० गुणा बढी हुने निष्कर्ष निकालेको थियो ।  ३० वर्षभन्दा कम उमेरका कोरोना संक्रमित मानिसको मृत्युदर कम भएको जनाइएको छ । ३० वर्षभन्दा कम उमेर समूहका चार हजार पाँच सय कोरोना संक्रमितमा आठ जनाको मृत्यु भएको थियो । त्यसमा पनि मधुमेह, उच्च रक्तचाप,  मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसको मृत्यु हुने जोखिम सामान्यभन्दा पाँच गुणा बढी हुन्छ ।

महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुनेसमेत बीबीसीले जनाएको छ । बीबीसीले उक्त तथ्यांकलाई विभिन्‍न अन्य पक्षहरुले फरक पार्नसक्‍ने जनाएको छ । तर, स्थान अनुसार पनि कोरोनाबाट मृत्यु हुने दरमा फरक पर्ने जनाइएको छ ।  कोरोना संक्रमणबाट मृत्यु हुनेमा ८० वर्षभन्दा बढी मानिस उच्च जोखिममा रहेका छन् भने ५० देखि ८० वर्षसम्मका मानिसहरु जोखिममा रहेका छन् ।  बीबीसीले विश्लेषण गरेको ४४ हजार कोरोना संक्रमितको तथ्यांकमध्ये ८० वर्षभन्दा बढी उमेर समूहका १४ प्रतिशत मानिसहरु संक्रमित भएका छन् भने ७० देखि ८० वर्ष उमेर समूहका पाँचदेखि १० प्रतिशत संक्रमित भएका छन् भने ४०–७० उमेरसमूहका मानिसहरु पाँचदेखि १० प्रतिशत छन् भने ४० भन्दा कम उमेरहसमूहका मानिसहरुमा पाँच प्रतिशत मानिसहरु संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले  सबै किसिमका श्वासप्रश्वास रोगबाट जोगिनका लागि साबुनपानीले हात धुन, रुघाखोकी लागेका मानिसहरुबाट टाढा रहने, हाँछ्यु गर्दा मुख छोप्‍न सुझाव दिएको छ । त्यसैगरी संगठनले कोरोना भाइरस हुँदैन भनेर ढुक्क हुनु घातक गल्ती हुने समेत बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु