२०८१ बैशाख २५, मङ्लबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको काम सुरु भएको छ। ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएकाे हाे। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई १० बजे शल्यकक्षमा लगिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदैछिन्। प्रधानमन्त्री ओली भन्दा केही समय पहिले समीक्षालाई शल्यकक्षमा लगिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेम खड्गाले जानकारी  दिए।

प्रधानमन्त्रीलाई ९ बजे नै अप्रेसन थिएटरमा लैजाने तयारी भए पनि केही रिपोर्ट आउन बाँकी रहेका कारण ढिला भएको हो। प्रत्यारोपणका लागि करिब ५ घन्टा समय लाग्ने बताइएको छ।

प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा  सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपालीलगायत हुने छन्। यसका साथै भारतीय डा अनन्त कुमारसमेत हुनेछन् ।

नर्सिङतर्फ पुनम सिन्हाको नेतृत्वमा पाँच जनाको टोली छ। यसैगरी, कलेजोमा समस्या देखिए डा रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा सन्तकुमार दास र मुटुमा समस्या देखिए डा अरुण सायमी पनि तयारी अवस्थामा छन्।

फेसबुक प्रतिक्रियाहरु