२०८१ बैशाख २३, आइतवार
  • Namaste Khabar ४ वर्ष अगाडि

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताको  महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताब गरेको  छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र केपी ओलीको संयुक्त प्रतिवेदनमा एकता महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको हो ।

अध्यक्ष प्रचण्डले बुधबार राष्ट्रिय सभामा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेका छन् । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख गरिएको छ।

एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक नेकपा केन्द्रीय समितिमा बुधबारदेखि एजेन्डागत छलफल सुरु गरेको हो।

आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी छन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन्। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडामा छलफल गर्नेछन्।

केन्द्रीय समितिको पहिलो दिन बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राखेपछि  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।
प्रचण्डले दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गरेका छन्।

केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ। समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र  सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्।

केन्द्रीय समिति बैठकका लागि पाँच दिनसम्म राष्ट्रियसभा गृहको हल बुकिङ छ। रिपोर्टिङ सकिएपछि दुई अध्यक्ष र महासचिवले जवाफ दिनेछन्। जवाफ दिएपछि समसामयिक प्रस्ताव पारित हुनेछ।

फेसबुक प्रतिक्रियाहरु