२०८३ साउन ३१, आइतवार
  • newsportal ५ वर्ष अगाडि

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको थियो ।

माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।

यस्तो छ मावोबादी मन्त्रीहरुको चिनारी 

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा १० वर्ष भूमिगत भएका पौडेल २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए । तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भए ।

पछिल्लो पटक गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने क्रममा उनले संक्रियतापूर्वक भूमिका खेलेको नेताहरु बताउँछन् । अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि हुन् ।

२०३४ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेकी श्रेष्ठ छोरा र छोरीलाई पैत्रिक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी थिइन् ।

माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज पनि सशस्त्र विद्रोहबाट आएका नेता हुन् । १ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए । २०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित उनी २०७४ मा त्यही क्षेत्रबाट विजयी भएका थिए । सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।

माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् । माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव (मास्टर साहब) को २ भदौ २०५१ मा हत्या भएको थियो । धनुषाकी उनी पनि सांसद भएको पहिलो पटकमै राज्यमन्त्री बन्ने भएकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापामा।
टोकियोमा तमु धीं जापानको २८औँ रोधी साँझ भव्य रूपमा सम्पन्न, निमा रुम्बाको दमदार प्रस्तुतिमा झुमे दर्शक।
निमा रुम्बा टोकियोमा , अगस्ट ९ मा ‘२८औँ रोधी साँझ’ विशेष लाइभ कन्सर्ट हुदै ।
नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।