२०८३ साउन ११, सोमवार
  • newsportal ५ वर्ष अगाडि

कांग्रेस सांसद गगन थापाले  एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएको बताएका छन् । एमालेका सांसदहरूले नै त्यसरी संसद् अवरुद्ध गर्न लाज मानेर पछाडिको ढोकाबाट भाग्ने गरेको पनि उनले बताए ।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्सँग घिन लाग्छ । उहाँलाई संसद् दख्नै हुन्न । प्रधानमन्त्री बनाएपछि आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयो । संसद्को पटकपटक भंग गर्नुभयो,’ थापाले भने, ‘संसद् पुनर्स्थापित भइसकेपछि पंगु बनाउनुभएको छ ।’

विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि एमालेको अवरोधका कारण आफ्ना कुरा राख्न नपाएको भन्दै थापाले दर्जनौं प्रश्न र असहमति त्यत्तिकै थाती रहेको बताए ।

‘राष्ट्र ऋण उठाउने विधेयक, आर्थिक विधेयकमा बोल्नु थियो । दर्जनौं कुरा सरकारलाई राख्नु थियो । विमती राख्नु थियो । आज बजेट पारित भयो । यो बजेटभित्र प्रतिपक्षी दलले उठाउनुपर्ने कुराहरू छैनन् ? संसद्लाई यसरी पंगु बनाएर राख्ने ?,’ उनले भने ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा उठेका विषयको टुंगो सभामुखले लगाउन नसक्ने थापाको भनाइ थियो । सर्वोच्चमा विचाराधीन विषय संसद्‌मा प्रवेश नै गर्न नसक्ने उनले बताए ।

संसद्प्रति सांसद ओलीले राख्ने धारणालाई एमालेले आफ्नो धारणा बनाउँदा झनै समस्या भएको थापाको भनाइ थियो । ‘यो नाराबाजीको बीचमा बजेट पास हुने अवस्था आएको छ, यो हामी कुनै पनि सांसदका लागि प्रिय दृश्य होइन,’ उनले भने, ‘यो विषय जसरी प्रारम्भ भयो, सभामुखले जसरी सम्बोधन गर्नुभयो त्योभन्दा फरक किसिमले सम्बोधन गर्न सक्ने थिए भनेर जनतासमक्ष आफ्नो धारणा लिन सक्नुहुन्छ । तर आफ्नो धारणाका आधारमा संसद्लाई बन्धक बनाउनुभयो ।’

संसद्‌मा विरोध गर्ने प्रतिपक्षीको ‘हतियार’लाई एमालेले दुरुपयोग गरेको पनि थापाले बताए । हाल आएर संसद्‌मा एमाले सांसद आउने र नाराबाजी गर्ने क्रम नियमित भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘विरोध राख्यौं, अब संसद्‌मा प्रतिपक्षको भूमिका निर्वाह गर्छौं भन्नुपर्ने होइन ? एमालेको कारणले गर्दाखेरि एमालेको सांसदले मात्रै होइन हामी कुनै पनि सांसदले आफ्नो भूमिका निर्वाह गर्न पाएका छैनौं । महत्त्वपूर्ण विधेयक पारित हुँदा प्रश्न राख्न नपाएर टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

एमालेका सांसदले नाराबाजी गरिरहँदा ठूला नेता तथा सांसदहरू पछाडिको ढोकाबाट भाग्ने गरेको थापाले बताए । ‘प्रमुख प्रतिपक्षी दलको हैसियत नाराबाजी गर्ने बनाउनुभएको छ । लाज लागेर ठूला नेताहरू नारा लगाउन आउन छोड्नुभएको छ । नेकपा (एमाले)का ठूल्ठूला सांसदहरू भाग्नुहुन्छ पछाडिको ढोकाबाट । लाज लाग्छ उहाँहरूलाई यसरी नारा लगाउन । कसले आएर भन्न सक्नुहुन्छ कहिलेसम्म यसरी संसद् चलाउने भनेर ?,’ उनले भने ।

पछिल्लो समय ठूला नेताहरू आउन पनि छोडेको र यस्तो अवरोधले नेपालको संसदीय अभ्यासका लागि अप्रिय भएको थापाले बताए । संसदीय गरिमामा आँच आएको पनि उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेपालको प्रेस स्वतन्त्रता खुम्चिँदै गएकोमा महासंघ अध्यक्ष शर्माको चिन्ता ।
सत्तारूढ दलका सांसद खगेन्द्र सुनुवार र ज्ञानेन्द्र शाही उपस्थित नेपाली फेस्टिभलको कार्यक्रममा कुटाकुट, भिडियो सामाजिक सञ्जालमा भाइरल ।
तमु धीं जापानको २८औँ रोधी साँझमा निमा रुम्बा एण्ड मर्करी ब्यान्डको लाइभ कन्सर्ट । टोकियोमा प्रीति बस्यो, देखि “हुरी बतास” सम्मका कालजयी पप धुन गुञ्जने ।
व्यापक आलोचनापछि साझा यातायातको हरियो रङ यथावत्, ‘ब्लु बस’का लागि स्टिकर वा विशेष चिन्ह प्रयोग गर्ने तयारी
गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै नेकपाको वक्तव्य
कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुमवासीको अवस्था बुझ्न पुगेका अभियन्ता पक्राउ