प्रचलित लोककथा अनुसार पौराणिक समयमा नदी किनारमा रहेको एक आश्रममा ज्ञानी जोगी बस्थे । आश्रमको वरिपरी थुप्रै लामालामा घाँसहरुको घारी थियो । उनि ती घाँसको टोकरी बनाउने कलामा निपुण थिए । जोगीलाई घाँसको टोकरी बनाउन आनन्द आउँथ्यो । टोकरीको खासै प्रयोजन नभएपछि उनि त्यो टोकरीलाई पानीमा बगाई दिन्थे ।
एवं रितले जोगी टोकरी बनाउदै पानीमा बगाई रहन्थे । यसबाट उनको दिन पनि कटी रहन्थ्यो । जोगीको यो नियमित कार्य जस्तै बन्दै गयो । एक दिन जोगीले सोचे कि म किन यो व्यर्थको टोकरी बनाउने अनि पानीमा बगाउने कार्य गरी रहेको छु । यसबाट त मलाई कुनै फाइदा भैरहेको छैन । यो सोचेर जोगीले टोकरी बनाउने कार्य बन्द गरे ।
केही दिनपछि जोगी नदीको किनार डुल्दै जाँदा उनले एक वृद्ध महिला नदी छेउमा उदास बनेर बसिरहेको पाए । जोगीले उनको उदासीको कारण सोधे । महिलाले यो जगतमा आफु एक्लै भएको बताइन् । यो नदीमा सुन्दर टोकरी बगेर आउने गरेको र सो टोकरी आफुले सम्हाली बजारमा बेचेर आएको पैसाबाट गुजारा चलाई रहेको बताइन् । सो टोकरी अव बगेर आउन छोडेकोले महिला आफ्नो गुजारालाई लिएर चिन्तित हुँदै आएको भनाई उनको थियो । यो सुनेपछि जोगीले भोलीपल्ट देखि फेरी घाँसको टोकरी बनाएर नदीमा बहाउन थाले ।
यो कथाको सन्देश यो हो कि हामी जव निस्वार्थ भावले कसैको मद्दत गर्छाै या कसैका लागि काम गर्छाै भने त्यसको लाभ आफुलाई पनि अवश्य प्राप्त हुन्छ । यस्तो कार्य गर्ने वेलामा हामीले यो सोच्न हुँदैन कि हामीलाई के लाभ प्राप्त हुन्छ । निस्वार्थ भावबाट गरिएको कामबाट हाम्रो पुण्यमा अभिवृद्धि हुनुका साथै अरुलाई पनि उसको आवश्यकता अनुसारको लाभ प्राप्त हुन्छ ।