काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्न नभ्याइने जनाएको छ । यसअघि हिजो बोर्डले रिजल्ट आज सार्वजनिक गर्ने जनाएको थियो ।
बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले बुधबार नतिजा सार्वजनिक नहुने बताए । नतिजा प्रकाशनको तयारी चलिरहेको बताउदै उनले भने,‘आज रिजल्ट हुँदैन, अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको जानकारी दिए ।
नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ तर बुधबार मध्यान्हसम्म पनि बोर्ड बैठक बोलाइएको छैन ।
यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन् । कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए ।
गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु छन् । चैत १० गतेदेखि सञ्चालन भएको परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी सहभागी थिए ।