प्रमेश तमु, टोकियो।
तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित तमु धीं जापानको आयोजनामा आयोजित २८औँ रोधी साँझ–२०२६ टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ।
अगस्ट ९, आइतबार टोकियोको शिन्जुकुस्थित WARP CLUB SHINJUKU मा आयोजित कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै तमु समुदायको मौलिक संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षण नेपाली पप संगीतका चर्चित तथा लोकप्रिय गायक निमा रुम्बा र मर्क्युरी ब्यान्ड (NIMA RUMBA & MERCURY BAND) रहे। निमा रुम्बाले आफ्ना करिब आधा दर्जन चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए। ‘प्रीति बस्यो’, ‘जाँदैछु म विदेशमा’ लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शकहरूले साथमा गाएर तथा नाचेर उत्साहपूर्ण साथ दिएका थिए। मर्क्युरी ब्यान्डको लाइभ संगीतसँगै रुम्बाको ऊर्जावान प्रस्तुतिले कार्यक्रमस्थलको माहोल थप सांगीतिक र रोमाञ्चक बनेको थियो।
त्यस्तै, “मेरो भ्वाइस युनिभर्ष सिजन २” का विजेता सफल गुरुङले पनि आफ्ना सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिलाएका थिए। उनको प्रस्तुतिलाई समेत उपस्थित दर्शकले उत्साहका साथ स्वागत गरेका थिए।
कार्यक्रममा तमु धीं जापान सांस्कृतिक परिवारका कलाकारहरूले तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार तथा मौलिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति दिएका थिए। परम्परागत संस्कृति र आधुनिक सांगीतिक प्रस्तुतिको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा बोल्दै तमु धीं जापानका अध्यक्ष अमर गुरुङले विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति, संस्कार र मौलिक पहिचानलाई जीवन्त राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो। यस्ता कार्यक्रमले मनोरञ्जन प्रदान गर्नुका साथै जापानमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
अध्यक्ष गुरुङले यस्ता सांस्कृतिक कार्यक्रमले तमु समुदायबीचको एकता अझ मजबुत बनाउनुका साथै जापानमा रहेका समग्र नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक आदानप्रदानलाई समेत प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जापानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, जातीय तथा सामुदायिक संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संगठनका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धि जिबी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
तीन दशक लामो इतिहास बोकेको तमु धीं जापानले हरेक वर्ष आयोजना गर्दै आएको रोधी साँझलाई तमु समुदायको भाषा, कला, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण सांस्कृतिक कार्यक्रमका रूपमा निरन्तरता दिँदै आएको छ। यसले जापानमा रहेका नेपालीबीच आपसी सद्भाव, सांस्कृतिक आदानप्रदान र सामाजिक एकतालाई थप मजबुत बनाउन योगदान पुर्याउँदै आएको छ।
यस वर्षको २८औँ रोधी साँझ–२०२६ मा मौलिक तमु संस्कृति, नयाँ पुस्ताका कलाकार र नेपाली पप संगीतका लोकप्रिय गायक निमा रुम्बाको लाइभ प्रस्तुतिको संयोजनले कार्यक्रमलाई विशेष, जीवन्त र मनोरञ्जनात्मक बनाएको थियो।
फोटो:




