२०८३ अशोज ६, मङ्लबार
  • Pramesh Tamu २१ घण्टा अगाडि

टोकियो:  शक्तिशाली समुद्री आँधी ‘डुजुआन’ जापानतर्फ अघि बढिरहेको छ। आँधी नजिकिनुअघि नै पूर्वी जापानका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ। बाढी, पहिरो र भीषण हावाको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

जापान मौसम विज्ञान निकायका अनुसार सोमबार बिहान ६ बजे आँधी जापानको दक्षिणी समुद्री क्षेत्रबाट प्रतिघण्टा २० किलोमिटरको गतिमा उत्तर–उत्तरपूर्वतर्फ अघि बढिरहेको थियो।

आँधीले आफ्नो शक्ति कायम राख्दै सोमबार मध्याह्नअघि देखि रातिसम्म इजु टापुहरू तथा कान्तो–कोशिन क्षेत्रनजिक पुग्ने सम्भावना छ।

कान्तो–कोशिन, तोकाइ र तोहोकु क्षेत्रमा चट्याङसहित मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ। केही स्थानमा प्रतिघण्टा ८० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसम निकायले जनाएको छ।

कान्तो–कोशिन र तोकाइ क्षेत्रमा सोमबार मध्याह्नदेखि रातिसम्म लगातार भारी वर्षा गराउने  ‘लिनियर रेनब्यान्ड’ बन्न सक्ने सम्भावना छ। यस्तो अवस्था उत्पन्न भएमा बाढी तथा पहिरोजस्ता विपद्को जोखिम अचानक अत्यधिक बढ्न सक्ने जनाएको छ ।

मौसम अधिकारीहरूले पहिरो र भीषण हावाप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। नदीमा पानीको सतह बढ्ने वा बाढी आउने, होचा भूभाग डुबानमा पर्ने तथा समुद्रमा अग्ला छाल उठ्ने जोखिमप्रति पनि सावधान रहन अनुरोध गरिएको छ।

आँधी नजिकिँदै जाँदा वर्षा र हावाको तीव्रता अझ बढ्ने अनुमान छ। सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

खराब मौसमका कारण रेल, हवाई उडान तथा अन्य यातायात सेवाहरू पनि प्रभावित भइरहेका छन्। यात्रा गर्नुअघि सम्बन्धित सेवाको पछिल्लो अवस्था र नवीनतम मौसम जानकारी जाँच गर्न अनुरोध गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु