काठमाडौँ — आज साँझ हुन लागेको एप्पलको वार्षिक कार्यक्रम ‘एप्पल इभेन्ट’ मा कम्पनीले आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
गत साता मात्रै प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका जन टर्नसले नयाँ उत्पादन सार्वजनिक गर्नेछन् । एप्पलले आर्टिफिसियल इन्टेलिजेन्समा पनि आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
एप्पलले बुधबार क्यालिफोर्नियाको कुपर्टिनोस्थित मुख्यालयबाट ‘सरप्राइज एन्ड साइन’ नाम दिइएको कार्यक्रम आयोजना गर्दै छ । नेपाली समयअनुसार बुधबार रातिको १०ः४५ बजे शुरु हुने कार्यक्रममा कम्पनीले आईफोन १८ प्रो र प्रो म्याक्स, पहिलो फोल्डेबल आईफोन तथा एप्पल वाच र एयरपड्सका नयाँ संस्करण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । एप्पलले भने यी उत्पादनबारे औपचारिक रूपमा केही बताएको छैन ।
टर्नसले नेतृत्व सम्हालेसँगै उनको पहिलो परीक्षा भने सिरी र एप्पल इन्टेलिजेन्समा कम्पनीले भोग्दै आएको चुनौतीलाई पार लगाउनु हुने र आजको कार्यक्रममा गुगल, मेटाजस्ता अन्य कम्पनीलाई एआईसम्बन्धी दौडमा टक्कर दिन केही नयाँ आउनसक्ने विज्ञहरूको राय छ ।
कार्यक्रमको मुख्य आकर्षण भने फोल्डेबल आईफोन हुने अपेक्षा गरिएको छ । युएसए टुडेको रिपोर्टअनुसार यसलाई ‘आईफोन अल्ट्रा’ नाम दिइन सक्छ । किताबजस्तो खुल्ने यो फोनमा बाहिरी भागमा करिब ५.५ इन्च र भित्रि भागमा ७.८ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ । फोन खोल्दा यसको मोटाइ करिब ४.५ मिलिमिटर हुने र फेस आईडीको सट्टा पावर बटनमै टच आईडी राखिने म्याकरूमर्सको अनुमान छ ।
