काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राज्यका निकायको असंवेदनशील र अमानवीय व्यवहारका कारण आत्मदाह गर्न बाध्य भएका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टीले शनिबार जारी गरेको वक्तव्यमा कर्णाली प्रदेशको मुगु जिल्ला, सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा तथा रोजगारीका लागि काठमाडौंमा बस्दै आएका गणेश नेपालीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको जनाएको छ। वक्तव्यमा दिवंगत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
नेकपाले लोकतान्त्रिक मुलुकमा आत्मदाहजस्तो दुःखद घटना हुनुलाई राज्यको चरित्र र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाउने विषय भएको उल्लेख गरेको छ। पार्टीका अनुसार आत्मदाहको प्रयासपछि घाइते भएका गणेश नेपालीमाथि जीवन रक्षा र मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायबाट बल प्रयोग, जरिवानाको दबाब, धम्की तथा घिसारेर हिँडाउने जस्ता अमानवीय व्यवहार गरिएको आरोप लगाइएको छ। साथै निधनपछि पनि घटनाको वास्तविकता सार्वजनिक नगरिनुले घटना अझ पीडादायी बनेको वक्तव्यमा उल्लेख छ।
वक्तव्यमा राज्य र नागरिकबीचको अपनत्व कमजोर बन्दै गएको, नागरिकका पीडा, संवेदना र आवाजलाई बेवास्ता गरिँदा गणेश नेपालीजस्ता युवाहरू आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुने अवस्था सिर्जना भएको दाबी गरिएको छ। यस्तै हजारौं सुकुम्बासी, भूमिहीन, श्रमिक, विपन्न तथा उत्पीडित समुदाय अझै पनि कष्टकर जीवन बिताउन बाध्य रहेको उल्लेख गरिएको छ।
पार्टीले संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, रोजगारी र सामाजिक न्यायको प्रत्याभूति राज्यको आधारभूत दायित्व भएको स्मरण गराउँदै गरिब, मजदुर, सुकुम्बासी, दलित, जनजाति, मधेसी, थारू, बेरोजगार युवा तथा अन्य उत्पीडित समुदायमाथि दमन हुने प्रवृत्ति बढ्नु चिन्ताजनक भएको जनाएको छ।
नेकपाले सरकारलाई धरातलीय यथार्थमा उभिएर बेरोजगार युवा, सुकुम्बासी, भूमिहीन, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढंगले सम्बोधन गर्न आग्रह गरेको छ।
साथै, गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, साथै पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।
