सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी जम्मा ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिए ।
कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे । नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो । एमाले ओली पक्षका सांसदहरु पठानसिंह बाेहरा, नेपालु चाैधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बाेहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे ।