२०८१ जेष्ठ ७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी आरोपमा मुछिएको एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ राइमाझीलाइ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्करी शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अधिकृतहरु बताउँछन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए । उनीहरुको बयानका आधारमा रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोड रुपैयाँको चेक यो गिरोहका सदस्यले काटेको पाइएको प्रहरी बताउँछ । तर, रायमाझीले महानिरीक्षक कुँवरसँग आफूहरुसँग त्यस्तो कुनै चेक नआएको भन्दै फसाउन खोजिएको दाबी गरेका थिए । सानु भण्डारी गाउँले भएकाले चिनजान भएको बताउँदै अरु सिलसिलामा भेट भएको विषयलाई तोडमोड गरेर फसाइएको दाबी महानिरीक्षक कुँवरसमक्ष उनले गरेका थिए ।

अर्का आरोपी केशव दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको निजी सचिव थिए । ‘त्यतिबेला म पनि शान्ति प्रक्रियाको काममा संलग्न भएकाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उहाँसँग पनि भेट भइराख्थ्यो’, रायमाझीले प्रहरी प्रमुखसँग दाबी गरेका छन्, ‘त्यहीक्रममा चिनजान भएपछि सम्पर्क र भेटघाट हुन थालेको हो, मैले गलत उद्देश्यले केही गरेको छैन ।’ उनले अर्कै प्रसंगमा घुम्न गोसाइँकुण्ड गएको विषयलाई पनि जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरुले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु