२०८१ जेष्ठ २, बुधबार
  • Pramesh Tamu २ वर्ष अगाडि

काठमाडौँ — माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत चयन भएका छन् । चितवनमा आइतबार सम्पन्‍न चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटाको नेतृत्वमा १ सय ९९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । तर आकांक्षी धेरै भएपछि अध्यक्षबाहेक पदाधिकारी टुंगो लाग्न सकेन ।

महाधिवेशनस्थलबाट १८५ सदस्यीय समिति घोषणा भएको छ भने बाँकी १५ जना केन्द्रीय समितिको पहिलो बैठकबाट मनोनयन गर्ने तय भएको पत्रकार देवीराम देवकोटाले जानकारी दिए ।

प्रेस सेन्टरको विधान अनुसार अध्यक्ष, १४ उपाध्यक्ष, महासचिव, ५ उपमहासचिव, १५ सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ ।

यस्तै बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ । सेन्टरका निवर्तमान कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार १८ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ ।

यसैगरी राजनीतिक गतिरोध अन्त्य गर्न दललाई ध्यानाकर्षण गराइएको छ । साथै मिडियासम्बन्धी पूराना कानुन खारेज गरी नयाँ कानुन बनाउन, साना लगानीको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत समेटिएको उनले जानकारी दिए ।

शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका थिए । यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो । महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु