२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ३ वर्ष अगाडि

काठमाडौँ — नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन् ।

आइतबार दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको बताए । सरकार पाकेको फलझै झर्ने उनको भनाइ छ ।

नेता खनालले संसद् पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद्को पुर्नस्थापना गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको बताए । प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताए ।

नेकपा दाहाल–नेपाल पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् ।

पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु