२०८१ जेष्ठ २, बुधबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु पार्टीभित्र देखिएको अन्तरविरोधको सामूहिक निकास खोज्न छाडेर आफूपक्षीय भेला गर्दै निर्देशन दिन थालेका छन् ।

यसको अगुवाइ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली आफैले गरेका छन् । सोहीअुनसार अध्यक्ष ओली र सचिवालय सदस्य समेत रहेका नेता ईश्वर पोखरेलले बुधबार प्रदेश १ का आफूनिकट नेताहरुलाई जुम मिटिङमार्फत थाँती रहेकोे ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई व्युँत्याउन निर्देशन दिएका हुन् ।

जबकि पार्टी एकता घोषणा गर्दा आगामी महाधिवेशनसम्म जनताको जनवाद र एक्काइसौँ शताब्दीको जनवाद दुवै थाँती राख्दै जनताको जनवादलाई कार्यक्रम बनाउने सहमति भएको थियो । तर पछिल्लो समय नेकपाको संस्थापन पक्षले जबजलाई नै जोड दिँदै एकपक्षीय ढङ्गले विचारको बहस अघि बढाउने प्रयत्न गरेपछि नेकपामा ओली प्रवृत्तिको विरोध हुँदै आएको छ ।

ओलीले जबजलाई अघि बढाउन मदन भण्डारी फाउन्डेसनलाई वडास्तरसम्मै विस्तार गर्न निर्देशन पनि दिएका हुन् । नेकपाभित्र मदन भण्डारी फाउन्डेसन पार्टीको समानान्तर कमिटी जस्तै भएको भन्दै चर्को विरोध भइरहेका बेला ओलीले फाउन्डेसनलाई जबज अघि बढाउने माध्यमका रूपमा प्रयोग गर्न भनेका हुन् ।

यसअघि सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले नेताका नामका संस्थाहरु कार्यविधि बनाएर मात्रै सञ्चालन गुर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यस्ता संस्था पार्टीका समानान्तर निकाय जस्तै बन्दा पार्टीमा गुटबन्दी मौलाएको निष्कर्ष निकालेको थियो ।

त्यस्तै गत भदौ २६ गते सम्पन्न स्थायी समितिको बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि प्रतिष्ठान र फाउन्डेसनका कारण पार्टीमा गुट झाँगिएकाले रोक्नुपर्ने उल्लेख छ । नेकपाका स्वर्गीय नेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसनको अधिकांश फन्ड (लगानी) भारतमार्फत जुट्ने गरेको छ । फाउन्डेसनका नामबाट शिक्षा, स्वास्थ्य र खेलकुद लगायतका गतिविधि हुँदै आएका छन् ।

ओखलढुङ्गाका नेकपाका नेता तथा केन्द्रीय सदस्य किशोर अधिकारीले जुम मिटिङमा प्रधानमन्त्री ओलीले पार्टीको पछिल्लो अवस्थाबारेमा सामान्य जानकारी दिएको बताए ।  उनका अनुसार भदौ २६ गते भएको सहमतिको मसी सुक्न नपाउँदै भदौै २७ बाटै त्यसको फेर काट्ने काम भएकोमा ओलीले असन्तुष्टि जनाएका थिए ।

सचिवालय सदस्य पोखरेलले विचारमा प्रस्टता ल्याउन पनि जबजको विकल्प नभएकाले त्यसैलाई मार्गनिर्देशक सिद्धान्त बनाउनपर्नेमा जोड दिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु