२०८१ मंसिर १, शनिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शुक्रबार बिहान गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो ।

किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिजविजल नदेखाउने बल्खुका १० र कालीमाटीका छ व्यापारीलाई जनही रु पाँच÷पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो । एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ रु २० हजार जरिवाना गरेको छ ।

खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही रु १०÷१० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा उपभोक्ताको ढाड सेक्न पल्किएका व्यापारी स्टलनै छाडेर भागेका थिए ।

तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ सो स्थानमा पुगेका भए पनि उनीहरु राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । उनले भने, “विभागको टोली समग्र बजारको अनुगमन गर्ने उद्देश्यले गएको थियो, ढुवानीकर्ता तथा बिचौलियाले नाफा खाएर व्यापारीलाई दिने गरेका रहेछन ।”
केही ढुवानीकर्ताले नै बिचौलियाको भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ । कृषि उपज सङ्कलन केन्द्रबाट ल्याउने ढुवानीकर्ताले नै अस्वभाविक मूल्य राखेर व्यापारीलाई दिने गरेका छन् । विभागले चुस्त दुरुस्त व्यवस्थापन गर्न नसकेको र बिचौलियालाई नियन्त्रणमा लिन नसकेको भन्दै कालिमाटी र बल्खुस्थित तरकारी बजारका व्यवस्थापन पक्षलाई पनि छलफलका लागि आउन निर्देशन दिएको छ ।

अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रुपमा बिलविजक जारी गर्न सम्पूर्ण व्यापारीलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा तरकारी बजार सुधार गर्न सरकारले विगतमा दिएको निर्देशन र चालेका कदम प्रभावकारी नदेखिएको पाइएको विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनगुनासो आएसँगै विभागले कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको हो । विभागका निरीक्षण अधिकृतको नेतृत्वमा दुई वटा टोली कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमनका लागि पुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।
शक्तिशाली आँधीपछि टोकियो आसपासका क्षेत्र सामान्य बन्दै, शिन्कानसेन बुलेट ट्रेन नियमित सेवा सुचारु,हवाई यात्रा भने अझै प्रभावित ।
शक्तिशाली टाइफुन टोकियो नजिक, शुक्रबार रातिसम्म  भीषण हावाहुरी र वर्षा हुने सम्भावना