नेपाल कम्युनिष्ट पार्टी (एस ) र माओवादीबाट अलग्गिएको देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एकीकरण भएको छ ।
तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए । राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरि दुइ पार्टी एकीकरण भएको हो । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।
नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताए । वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको भन्दै उनले यसका विरुद्ध संघर्षको खाँचो औंल्याए ।
‘व्यक्तिको निरंकुशता विचार र पार्टीको भ-याङ चढेर माथि चढ्ने र स्वार्थको सागर बनाउने रहेछ, उनले भने, ‘जनतमतबाट हिटलर आएका होइनन् ? समाजवादकै झण्डा बोकेका थिए त उनले । उनको पतन भयो । अरुको त के हैसियत छ र ?’
उनले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताए । आफूहरुले कम्युनिस्ट विचारलाई देशव्यापी बनाउँदै ३२ सालमा कोअर्डिनेशन केन्द्र बनाएको स्मरण गराउँदै उनले त्यतिबेला जम्मा ८ जना नेताबाट त्यो अभियान सुरु गरिएको बताए । उनले भने, ‘त्यसमा पनि चार जना त हराए, अहिले तीन जनामात्र छौं– म, झलनाथ खनाल र मुकुन्द न्यौपाने । संगठनमा मानिसलाई गोलबद्ध बनाउँदा बनाउँदा विशाल पार्टी बनायौं ।’
यसरी विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको उनको भनाइ छ । आफूहरुसँग विचार रहेको भन्दै उनले विचारकै आधारमा नेकपा एकीकृत समाजवादी पार्टी अग्रणी बन्न सक्ने दाबीसमेत गरे ।