ताप्लेजुङ — निर्वाचन आयोगको निर्णयपछि केपी समूहका मान्छे कोठामा बसेर क्वाँ क्वाँ रोएको नेकपाको अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आयोगको अहिलेको निर्णय आफूहरुको पक्षमा आएको दाबी गरे । ‘ओलीका केही मान्छेले आयोगको निर्णय हाम्रो पक्षमा आयो भनेछन्,’नेपालले थपे, ‘जनतालाई झुक्याउन निर्णय हाम्रो पक्षमा आयो भन्छन् अनि कोठामा बसेर निर्वाचन आयोगले हामीलाई डुबायो भनेर क्वाँ क्वाँ रोएछन् ।’
निर्वाचन आयोगले २०७५ साल जेठ २३ गतेको निर्णयमात्रै मान्ने फैसला गरेको नेपालको दाबी छ । ‘पार्टीको विधान, घोषणा पत्र, नियमावली हेर्दा त्यसलाई मात्रै मान्न सकिने निष्कर्षमा निर्वाचन आयोग पुग्यो र त्यो फैसला गर्यो,’ उनले भने, ‘त्यो अनुसार हामीसँग ३ सय बढी केन्द्रीय सदस्य छन् ओलीसँग एक सय जनामात्रै छन् ।’ होटलमा केपी जिन्दावाद भनेका, सडकमा भेटिएकालाई ओली एण्ड कम्पनीले केन्द्रीय सदस्य बनाए पनि आयोगले त्यसलाई मान्यता नदिएको उनले बताए । नेपालका अनुसार जेठ २३ को निर्णय अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्य छन् । तीमध्ये कतिपयको मृत्यु, कतिपय राजदूत लगायतका अन्य नियुक्तिमा गएपछि १२ जनाको संख्या खाली छ । अहिले ४ सय ३३ जना रहेका छन् । ती मध्येका एक सयजना जतिमात्रै ओलीमा रहेको उनले बताए ।
सर्बोच्चको फैसलाले ओलीलाई हटाउने र त्यसपछि मात्रै उनी आफ्नो घर जाने नेपालको दाबी छ । ओलीको पछि लागेका कार्यकर्ताले भविष्यमा पछुताउनु पर्ने भएकाले पछि नलाग्न उनले पटक/पटक आग्रह गरे । ३/४ वर्ष पार्टीको अध्यक्ष भएका व्यक्तिले आफू १४/१५ वर्ष पार्टी चलाएको र ८/९ वर्ष पार्टी चलाएको झलनाथ खनाललाई मानमर्दन गरेको नेपालको गुनासो छ । ‘पार्टी हाँक्नेलाई मानमर्दन गर्नुहुन्छ । सम्मान गर्नु हुन्न । संसद्मा परामर्श गर्नु हुन्न । छलफलमा जानु हुन्न । अनि भन्नु हुन्छ मलाई काम गर्न दिएनन्’ नेपालले थपे,‘उहाँलाई पार्टीमा छलफल स्वीकार्य भएन । मलाई घेराबन्दी गरे भन्नुभयो । नेता बन्ने हैसियत राख्नु भएन । त्यसैले अध्यक्षबाट हटायौं । सदस्यबाट पनि हटाइसक्यौं अब उहाँलाई चिठी बुझाउन मात्रै बाँकी छ ।’ ओलीमा अहंकार मात्रै भएको उनको आरोप थियो आजको कान्तिपुरमा समचार छ ।