सप्तरी: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिएका छन् ।
सप्तरीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै यादबले संविधान विपरीत मनमानी तरिकाले काम गर्ने ट्रम्पलाई जाँदाजाँदै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने उनले बताएका हुन् । यादबले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीले असंबैधानिक काम गरेकाले जादा जादै महाअभियोगको सामना गरेर जाने बताए ।
नेपालमा ठूला राजा महाराजाहरु आएर गएको इतिहास कोट्याउदै यादबले आफूले जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीले बोकेको बताए । विरोध सभालाई सम्बोधन गर्दै जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाप्रतिगमनकारीको संज्ञा दिए ।
नेता महतोले पहिलो प्रतिगमन अधिकारविहीन संविधान बनाएरै भएको बताए । ‘संविधान बन्ने बेला नै ओलीले पहिलो प्रतिगमन गरे,’ नेता महतोले भने, ‘छातीमा गोली हानेर अधिकार खोसेर संविधान जारी गरे । गत पुस ५ गते संसद विघटन गरेर अर्काे प्रतिगमन गरे । त्यसैले उनी महाप्रतिगमनकारी हुन् ।’