काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम व्यवस्थाविरुद्ध नै लक्षित रहेको बताएका छन् । उनले अहिलेको राजनीतिक परिस्थिति नेकपाको आन्तरिक मामिलाका कारण मात्र सिर्जना नभएको दाबी गरे ।
‘नेकपाको आन्तरिक मामिला होला, नेकपाका नेताहरूलाई तह लगाउन मात्र ओलीले यसो गरेका होलान् भन्ने नठान्नुहोस्,’ दाहाल–नेपाल समूहले राजधानीमा अन्य दलसँग गरेको अन्तरक्रियामा उनले भने, ‘यस्तो कदमले कसैलाई बाँकी राख्दैन ।’
आफूमाथि प्रश्न उठ्दा ओलीले मुलुक नै सिध्याइदिने कदम चालेको नेपालको भनाइ थियो । उनले आफूअनुकूल वातावरण बनाउन ओलीले संकटकाल लगाउनेलगायत चर्चा चलेको उल्लेख गर्दै यस्तो सपना नदेख्न चेतावनी दिए ।
अन्तरक्रियामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीले समग्र शासन व्यवस्थालाई नै ‘कु’ गरेको टिप्पणी गरे । उनले ओलीको ‘कु’ २०१७ सालमा राजा महेन्द्र र ०६१ सालमा राजा ज्ञानेन्द्रले गरेको ‘कु’ जस्तै भएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘ओलीको नेतृत्वमा पुस ५ मा भएको प्रतिगमनकारी घटना सामान्य होइन,’ उनले भने, ‘त्यो त व्यवस्थामाथिको कु हो । यसलाई सामान्य अर्थमा लिने गल्ती कसैले नगरौं ।’ पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाइ बहुमतको सरकार चलाउन नसक्नेले चुनाव गराउँछन् भन्ने भ्रममा नपर्न पनि आग्रह गरे । अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने उल्लेख गर्दै उनले संविधान पनि भंग भए राष्ट्रिय स्वाधीनतामाथि खतरा आउन सक्ने उनको भनाइ थियो । ‘प्रतिनिधिसभा पुन:स्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्छ तर भर पर्नु हुँदैन,’ उनले भने ।
कार्यक्रममा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री ओली पूर्वज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियमकानुन नमान्नेहरू लामो समय नटिक्ने गरेको उनको भनाइ थियो । उनले पनि चुनाव वैशाखमा नहुने दाबी गरे । जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरू सधैंभरि अग्रगमनका पक्षमा रहने बताए । देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आन्दोलनको स्वरूपबारे प्रस्टता खोजेका थिए । ‘संयुक्त आन्दोलनको खाका के हुने, प्रतिनिधिसभा पुन:स्थापना भएपछि के गर्ने, नभए आन्दोनल कसरी अघि बढाउने भन्नेमा स्पष्ट हुनुपर्छ,’ उनले भने ।