काठमाडौं: नेकपामा विवाद चुलिएसँगै चिनिया राजदुत होउ यान्छीको सक्रियता पुनः बढेको छ ।
उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको बालुवाटार स्रोतले बतायो ।
यसअघि पनि आन्तरिक विवाद चुलिएको बेला नेकपालाई फुटबाट जोगाउन राजदूत यान्छीले महत्वपुर्ण भूमिका खेलेको बताइन्छ ।
गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यसबेला नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।
अहिले फेरि चर्किएको नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् ।