२०८२ फाल्गुन २७, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

झापाः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन्। कांग्रेस झापाले आइतबार गरेको कार्यक्रममा उनले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताएका हुन्।

‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन’, उनले भने, ‘अमेरिकी सेना पस्ने हल्ला निराधार हो।’

सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ छ।

‘अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्’, उनले भने, ‘सुनेको भरमा धारणा बनाउनु हुँदैन।’ मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उनको भनाइ थियो।

प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए। यता, कोरोना सङ्क्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।

केन्द्रीय समितिको निर्देशनबमोजिम कांग्रेस झापाले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको पार्टीका झापा सभापति उद्धव थापाले बताए। रासस

फेसबुक प्रतिक्रियाहरु