काठमाडौं । संघिय समाजवादी पार्टीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश राजनीतिक पार्टी फुटाउने षड्यन्त्र गर्न ल्याएको आरोप बताएको छ ।
मंगलबार अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् । ‘यसले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटना पार्ने देखिन्छ,’ यादवले विज्ञप्तिमा भनेका छन् ।
अध्यादेशले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने समाजवादी पार्टीले बताएको छ । ‘अध्यादेश लोकतन्त्र र संविधानको मर्म, भावनाका प्रतिकुल हुनुका साथै देश र जनताको हितविरुद्ध पनि छन् । यसलाई सरकारले फिर्ता लिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।
कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारी कदमको विरोध गर्न समेत समाजवादी पार्टीले आग्रह गरेको छ ।