दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला विपद् व्यवस्थापन कोषमा १ सय बोरा चामल जम्मा गरेका छन् । महराका स्वकीय सचिव प्रमोद शर्माले बिहीबार प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई उक्त चामल हस्तान्तरण गरेका हुन् ।
पूर्वसभामुख तथा दाङ क्षेत्र नं २ का सांसद महराले पहिलो चरणमा जिल्लामा आइपर्ने विपन्न तथा ज्यालादारी मजदुरहरुको छाक नबसोस् भनेर जिल्ला विपद व्यवस्थापन कोषमा १ सय बोरा चामल उपलब्ध गराएको बताए ।
‘कोरोना संक्रमणले यतिबेला मुलुकलाई छोएको मात्र छ’, महराले भने, ‘भोलि झनै उग्ररुप लिन पनि सक्छ । त्यसकारण म अब दोस्रो चरणका लागि पीपीई, मास्क, औषधि, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाउने अभियानमा छु ।’
मुलुक लकडाउनमा रहेका बेला यो सामग्रीले विपन्न परिवार, ज्यालादारी गर्ने मजदुरहरुलाई सहयोग हुने उनले बताए ।