२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

एजेन्सी – भारतमा एउटी आमाले छोरालाई घर ल्याउन स्कुटरमा एक्लै १४ सय किलोमिटरको यात्रा तय गरेकी छन्।

पेसाले शिक्षिका रहेकी रजिया बेगम बोडन नाम गरेकी ती महिलाले आन्द्र प्रदेशको नेल्लोर शहरमा अड्किएका छोरालाई घर ल्याउन कडा लकडाउनकाबीच यति लामो दुरी पार गरेकी हुन्।

दुई छोरा र एक छोरीकी आमा रजियाले प्रहरीबाट एउटा अनुमतिपत्र लिएर छोरो लिन गृहनगर निजामाबादको बोधनबाट हिँडेकी थिइन्।

बाटोमा अनेक पटक रोकिएको भएपनि अधिकारीहरूलाई आफूले यात्रा गर्नुको कारण बुझाउँदै छोरो अड्किएको निल्लोर शहर पुगेर छोरालाई उनले घर ल्याएकी हुन्।

‘यो कठिन थिएन’, गृहनगर फर्किएपछि उनले रिपोर्टरहरूसँग भनिन्।

डक्टर बन्ने लक्ष्य बोकेका उनका छोरा निजामुदिन हैदराबादमा त्यसैको तयारीका लागि कोचिंग एकडेमीमा भर्ना भएर पढिरहेका थिए।

सँगै पढ्ने साथीका बाबु बिरामी परेपछि निजामुदिन साथीसँगै गत महिना मार्च १२ मा नेल्लोर पुगेका थिए।

त्यही समयमा लकडाउन घोषणा भएपछि निजामुदिन फर्कन पाएनन्, उतै अड्किए।

छोरा अड्केपछि लकडाउनको समयमा रजियाको मन मानेन र उनी छोरा लिन जाने निर्णयमा पुगिन्। त्यसका लागि उनले बोधनका एक प्रहरी अधिकारीको सहयोग मागिन्। ती प्रहरी अधिकारीले उनलाई आवश्यक अनुमति दिलाइदिएपछि उनी एक्लै स्कुटरमा १४ सय किलोमिटर लामो यात्रामा हिँडेकी थिइन्।

‘वनको बाटो हुँदै पनि यात्रा गर्नुपर्‍यो तर मलाई केहीको डर थिएन,’ रजियाले यात्रा अनुभव सुनाउँदै भनिन्, ‘मेरो चाहना नै छोरालाई कुनै पनि हालतमा फिर्ता ल्याउनु थियो।’

अप्रिल ७ मा बोधनबाट नेल्लोर पुगेकी उनी अप्रिल ८ मा छोरा लिएर बोधन फर्किन्।

फेसबुक प्रतिक्रियाहरु