जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सवारी पास लिनेको घुईँचो लागेको छ । लकडाउनको अवधि आठ दिन थप भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिन चाहेकाहरु सवारी साधनको पासको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।
पास लिन उपस्थित भएकाहरुको संख्या धेरै भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पास वितरण नै नगरी लाम लागेका सर्वसाधारणलाई फकाईदिएको छ । सुरक्षार्थ खटिएका प्रहरीमार्फत माइकिङ गराउँदै प्रशासनले अब यसही प्रशासनबाट वितरण हुँदै आएको सवारी पास अब उप्रान्त सम्बन्धित निकायबाटै वितरण हुने जानकारी गराएको छ ।
कहाँ कहाँबाट पाइन्छ पास ?
प्रशासनले एक सूचना जारी गर्दै आकस्मिक सवारी पास मात्रै प्रशासनबाट वितरण हुने जनाएको छ । प्रशासनका अनुसार अब बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैंक, राष्ट्रसेवक कर्मचारीहरुका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खाद्य बस्तुलगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण हुनेछ ।
काठमाडौँ बाहिर रिपोर्टिङमा जाने पत्रकारहरुले भने प्रेस काउन्सिलबाट सवारी पास लिन सक्नेछन् । इँटा भट्टामा काम गर्ने मजदूर, विभिन्न ठूला उद्योग तथा कम्पनीका कामदारहरुका लागि भने डीएसपी रहने प्रहरी कार्यालयमार्फत गन्तव्यसम्म पुग्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
यसअघि वितरण भएका सवारी पासको म्याद आज सोमबारसम्म कायम रहेको प्रशाुनले जनाएको छ । भोली मंगलबारबाट भने क्षेत्र अनुसार पास वितरणको निकाय फरक फरक हुने हुँदा प्रशासनमा भिड कम हुने अनुमान गरिएको छ ।