काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना भाइरसकाे चौथो संक्रमणको बारेमा जानकारी दिएका हुन् ।
संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए। दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
संक्रमित व्यक्ति ३४ वर्षीय पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको देवबोटाले जानकारी दिए। प्रवक्ता देवकोटाले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन्।
उपत्यकाबाहिर देखिएको यो पहिलो संक्रमण हो।
जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८०२ जनाको नमुना परीक्षण भइसकेको छ। जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन्।