अबुधाबीकी एक बालिका अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । बालिका अइशा मोहम्मद मसित अल मजरुइले युएईका युवराज तथा शासक शेख मोहमद बिन जियाद अल नह्यानसँग हात मिलाउने चाहना पूरा नहुँदा दु:खी बनेको तस्वीर सामाजिक सञ्जालमा छाएपछि युवराज तथा शासक शेख बालिकाको घरमै पुगेर माया गरेका छन् । जुन भिडियोले अहिले चर्चा पाएको छ । सामान्यतया अतिविशिष्ट व्यक्तिहरु सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदा उनीहरुलाई हेर्नेहरुको भीड हुन्छ ।
तर विशिष्ट ब्यक्तिहरुको त्यसतर्फ ध्यान नजान सक्छ । यही नजरअन्दाज गरिएको सामान्य मानिएको केही कुराले असामान्य नतिजा ल्याउन सक्दाे रहेछ । त्यस्तै भयो शेख मोहमद बिन जियाद अलको जीवनमा । उनको स्वागतमा उभिएकी बालिका अइशाले शेख सरिक भएको एक सार्वजनिक समारोहमा उपस्थित भएर बारबार हात मिलाउन अघि बढिरहेकी थिइन् ।
तर अन्य विशिष्ट ब्यक्तिसँग व्यस्त रहेका युवराजले बालिकालाई ध्यान दिनै भ्याएनन् । उनले बालिकालाई देख्दै देखेनन् भन्दा पनि हुन्छ । जब अरु बालबालिकासँग हात मिलाउँदै ती बालिका भएसम्म युवराज आइपुगे, बालिकाले हात अगाडि बढाइन् । तर युवराजको ध्यान अर्कै तर्फ मोडियो, उनी बालिकासँग हात नमिलाई अघि बढे ।
तर त्यो सबै कृयाकलापको भिडियो लिएका एक जनाले उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए । भिडियो भाइरल भएपछि युवराजले आफ्नो व्यवहारप्रति आत्मग्लानि गर्दै बालिकाको घरमै जाने निधो गरे । र, उनी बालिकाको घर पुगे । राजकुमारलाई भेटेर बालिका हर्षित देखिएकी छिन् । यस घटनाकाे भिडियोलाई अहिले निकै रुचाइएको छ र राजकुमारको यो कदमको निकै प्रशंसा पनि गरिएको छ ।