काठमाडौं : नेकपाका अध्यक्ष प्रचण्डले टीकापुर घटनामा दोषी ठहराइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्। माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै यसको परिणाम केही समयभित्रै निस्कने बताएका हुन ।
उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ। कतिपय साथी छुटेका छन्। रेशमलगायत साथीहरू छुट्न बाँकी छ। छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ।’
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। त्यही अभियोगमा चौधरीलगायतविरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो। मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद ठहर गरेको थियो।
कैलाली अदालतको फैसला पुनरावेदनका लागि चौधरीलगायत उच्च अदालत दिपायल गएका छन्। उनको मुद्दा उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा चलिरहेको छ। मुद्दाको पेसी ७ माघका लागि तोकिएको छ।