काठमाडौं । भारतको दबाबपछि भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण सरकारले नगर्ने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै हाललाई तरकारीमा विषादी परीक्षण नगर्ने भएको हो।
दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषबाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको छ ।
आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन आदेश परिमार्जन गरी जारी गरे पनि प्रयोगशालाको अभावलाई प्रमुख कारण देखाउदै सरकारले विषादी परीक्षणको निर्णय फिर्ता लिएको हो ।
यसैबीच शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री चत्रपाणी खनालले विषादी परीक्षण बन्द गर्ने निर्णय आफूले नगरेको बताए । तरकारी तथा फलफूलमा प्रयोग भएका विषादी परीक्षणका लागि सरकारसँगै पूर्वाधार नभएको उनले बताए । कृषि मन्त्री खनाल वाणिज्य मन्त्रालयको आग्रहमा परीक्षण तत्कालका लागि स्थगित गरेको भन्दै पन्छिएका थिए ।
प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका अनुसार मुलुकभित्र करीब २९ प्रकारका विषादी प्रयोग भइरहेका छन् । फलफूल तथा तरकारीमा दर्जन बढी प्रकारका विषादी प्रयोग गरिन्छ । तर, ती मध्ये नेपाली प्रयोगशालाबाट दुई प्रकारका विषादी मात्रै परीक्षण हुन्छ । ती बाहेक अन्य प्रकारका बिषादी स्वदेशी प्रयोगशालाले एकीन गर्न सक्दैन । विषादी परीक्षण बाहेक बिषादीको अवशेष मात्रा पनि निर्धारण गरिएको छैन ।
असार २ गते राजपत्रमा प्रकाशित आदेशमा ‘ताजा तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गरेर मात्र गर्नु पर्नेछ’ भन्ने उल्लेख छ । जसअनुसार व्यवसायीले तरकारी तथा फलफूल आयात गर्दा अनिवार्य परीक्षण गर्नुपर्छ । कृषि मन्त्रालय अनतर्गका बिर्तामोड, सर्लाही, काठमाडौं, पोखरा, नेपालगन्ज, अत्तरिया र बुटवलमा पनि प्रयोगशाला छ । तर, ती प्रयोशालामा कर्मचारी अभावले परीक्षण नै हुन सकेको छैन ।