काठमाडौँ । चीनको वुहानबाट सुरु भइ विश्वव्यापी रुपमा माहामारी फैलाईरहेको प्राणघातक कोरोना भाइरस कोभिड-१९ का कारण अहिले नेपालमा पनि त्रास छाएको छ। नेपाल सरकारले उक्त महामारीको जोखिमलाइ मध्यनजर गर्दै चैत ११ गतेदेखि लकडाउन समेत गरेको छ। नेपालमा कोरोनाको त्रास बढ्दै गईरहेका बेला सरकारले कोरोना भाइरस कोभिड–१९ बाट नेपालका तीन जिल्ला सबैभन्दा प्रभावित हुन सक्ने आंकलन गरेको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सूदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी र अछाम तथा कर्णालीको जुम्ला र बागलुङ जिल्ला महामारी संक्रमणका हिसाबले जोखिमपूर्ण रहेको निस्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।
ती जिल्लामा शिघ्र परीक्षण गर्ने उच्चस्तरीय समितिले निर्णय गरेको छ। रोजगारीको सिलसिलामा छिमेकी राष्ट्र भारतमा लकडाउन भएपछि ती जिल्लाका मानिसहरु ठूलो संख्यामा घर फर्केका छन् ।केहि दिनअघि मात्र कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–२ घर भएका पवन कुमार भट्टराई छन् ।
प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल फेसबूकमार्फत टीकापुरमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेको भन्दै अफवाह फैलाएका थिए । उनले आफ्नो फेसबूकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा कोरोना भाइरसको संक्रमित भेटिएको भन्दै अफवाह फैलाएका थिए ।
फेसबूकमा अफवाह फैलाएको देखिएपछि इलाका प्रहरी कार्यालय टीकापुरले भट्टराईलाई नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ ।
दुबईको सारजाहा विमानस्थलबाट उडान जी ९५३७ बाट काठमाडौँ ओर्लिएका माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका अमृत पौडेल र दीपक गुरुङ तथा वडा नं ६ धितालका गोविन्दप्रसाद अधिकारीको स्वाब परीक्षण गर्दा उनीहरुको नतिजा नेगेटिभ आएको हो ।
तीनै जनाको सोमबार पोखरामा गरिएको कोरोना परीक्षणबाट उनीहरुमा कोरोना सङ्क्रमण नदेखिएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मालाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । उनीहरुसँगै आएको व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीनै जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका थिए ।
त्यसैगरी चैत ४ गते बाग्लुङकी सङ्क्रमित एक युवतीलाई पोखराबाट स्कारपियो गाडीमा राखेर बाग्लुङ घरसम्म पुर्याउने चालकको समेत स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा चैत महिनामा विदेशबाट आएका ३१ जना सबैले होम क्वारेन्टाइनको अवधि भुक्तान गरिसकेको बताइन्छ । “अन्तिम पटक चैत ८ गते आएका दुई जनासहित सबैको होमक्वारेन्टाइनको अवधि पूरा भएको छ । शङ्कास्पद तीन जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आयो, अन्यको स्वास्थ्य सामान्य छ”, अध्यक्ष गुरुङले भने ।
गाउँपालिकाले कोरोनबाट प्रभावित विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई राहत वितरणको तयारी गरेको छ । नौवटै वडामा लगत सङ्कलन भइरहेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए । गाउँपालिकाले ५०० प्रभावित परिवारलाई राहत वितरणको तयारी गरेको छ ।