सो उडानमा आएका एक सय ५८ मध्ये १८ यात्रु कहाँ छन् अझै पत्तो लागेको छैन । एक सय ४० यात्रु भेटाएको र अधिकांशको नमुना परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ ।
‘विमानमा ४८ जिल्लाका यात्रु आएका थिए । १८ जना अझै भेटिएका छैनन् । सम्पर्क नगर्नेलाई पक्राउ गरेर मुद्दा चलाउने प्रहरीको तयारी छ,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।
त्यस्तै, ६ चैतमा शारजहाबाट आएको एयर अरेबियाको विमानका २९ यात्रु पनि भेटिएका छैनन् । उक्त विमानमा एक सय ७० सवार रहेकोमा धादिङका एक युवकमा संक्रमण पुष्टि भइसकेको छ । विमानमा ४५ जिल्लाका यात्रु रहेको र २९ जनाको सम्पर्क नम्बरसमेत नपाइएकाले खोज्न समस्या भएको प्रहरीले जनाएको छ ।
६ चैतमै भिस्तारा एयरमा दिल्लीबाट आएका कैलालीका युवकमा पनि संक्रमण पुष्टि भएको छ । सो विमानमा ३० जिल्लाका एक सय ३० सवार थिए । जसमध्ये बिहीबार बेलुकासम्म ५१ जना भेटिएका छन् ।
बुद्ध र यतीका यात्रुको पनि खोजी
नेपालमा बिहीबारसम्म पुष्टि भएका ६ संक्रमितमध्ये तीनजनाले आन्तरिक उडान पनि प्रयोग गरेका थिए । बाग्लुङका दुई संक्रमित महिला ४ चैतमै यती एयरलाइन्समार्फत काठमाडौंबाट पोखरा गएका थिए । उक्त उडानमा ५७ यात्रु थिए । जसमध्ये ११ जनालाई प्रहरीले फेला पारेर क्वारेन्टाइनमा बस्न भनेको छ । दुवै महिला पोखराबाट जिपमा सँगै बाग्लुङ गएका थिए । गाडीमा सवार व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।
त्यस्तै, धनगढीका संक्रमित युवा ८ चैतमा काठमाडौंबाट बुद्ध एयरमा नेपालगन्ज गएका थिए । जसमा ७१ यात्रु थिए । बिहीबारसम्म ३० जना मात्रै सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि कन्टाक्ट ट्रेसिङ (संक्रमितको खोजी) प्रभावकारी हुने भए पनि नेपालमा संयुक्त संयन्त्र नहुँदा समस्या भएको छ । स्वास्थ्य सेवा विभाग र प्रहरीले छुट्टाछुट्टै टोली बनाएर आ–आफ्नै तरिकामा काम गरिरहेका खबर नयाँ पत्रीकाले लेखेको छ ।