इंग्ल्यान्ड । न्युजिल्याण्ड भारतलाई पराजित गर्दै इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुगेको हो ।
अ न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो ।
भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए । निकै खराब सुरुवात गरेको भारतको इनिङ्स जडेजा र धोनीले उकासेका थिए ।
मात्र ५ रन जोड्दा ३ विकेट गुमाएको भारतका लागि धोनी र जडेजाले सातौं विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । तर, न्युजिल्याण्डले भारतविरुद्ध दुई दिन ब्याटिङ गरेको थियो । मंगलबार न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित भएको थियो । वर्षाले खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।
बुधबार न्युजिल्याण्डले त्यहि स्थितिबाट ब्याटिङ गर्दै भारतलाई २४० रनको लक्ष्य दिएको थियो । बुधबार न्युजिल्याण्डले थप २८ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
अब न्युजिल्याण्डले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । साबिकको विजेता अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ ।