काठमाडौं । नेपालले हङकङलाई पराजित गर्दै एसीसी यु–१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । यो जितसँगै नेपाल यु–१९ एसिया कपमा छनोट पनि भएको छ ।
मलेसियामा मंगलबार भएको फाइनलमा हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए ।
यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनाएको थियो ।
हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए । यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए भने कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।
उपाधि सहित एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।